बैतडी –बैतडीको सुर्नया गाउँपालिका –२ स्थित वासुलिङ्ग बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष देवबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सुर्नया गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहरा प्रमुख अतिथी रहेकी थिइन् ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष केशवराज भट्टले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन आर्थिक संयोजक योगेश चन्दले प्रस्तुत गरेका थिए ।
संस्थाले अहिलेसम्म २० लाख २२ हजार ७ सय २१ रुपैंया नाफा कमाएको सहकारी संस्थाका कोषाध्यक्ष नरेन्द्रबहादुर बिष्टले बताए ।
२०५४ सालमा स्थापना भएको संस्थाको कुल आम्दानी २ करोड ७२ लाख रुपैयाँ रहेको संयोजक चन्दले बताए । सेवाग्राहीहरुको सहजताका लागि आधुनिक प्रविधिबाट सेवा दिँदै आएको संस्थामा ६ सय जना बचतकर्ता रहेका छन् ।
सहकारी संस्थाको बार्षिक साधारण सभामा बोल्दै सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले सहकारीहरुले ग्रामीण क्षेत्रमा बैंकको काम गरेको बताइन् । विपन्न नागरिकको आर्थिक क्षेत्रमा पहुँच पुर्याउनका लागि सहकारीहरुको ठूलो योगदान रहेको उनले बताइन् ।
यस्तै साधारण सभामा सहभागी सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेशबहादुर बिष्टले सहकारी संस्थाहरुले ग्रामीण क्षेत्रमा बचत गर्ने बानीको विकास गर्नुका साथै बित्तीय साक्षरता समेत बढाएको बताए ।




