Sagun Khabar
बैतडीकी रेणु चन्द माओवादीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार 

बैतडी –बैतडीकी रेणु चन्दलाई नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

उनलाई सुदूरपश्चिमबाट राष्ट्रिय सदस्यमा उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए । 

२०६४ सालमा बैतडी क्षेत्र नं २ बाट संविधान सभा सदस्यमा निर्वाचित भएकी चन्द नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इञ्चार्ज समेत रहेकी छन् । 

सत्तारुढ गठबन्धनसँगको सहमति अनुसार माओवादीले आफ्नो भागमा परेका क्षेत्रबाट उम्मेदवार घोषणा गरेको हो । माओवादीले कोशीमा चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी र कर्णालीमा विष्णु विश्वकर्मालाई उम्मेदवार बनाएको छ । 

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update