बैतडी–बैतडीको सदरमुकामस्थित विरेन्द्र मावि शाहीलेकमा संगीत कक्षा सञ्चालन हुने भएको छ । आगामी माघदेखि विद्यार्थीहरुका लागि संगीत कक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिए ।
अतिरिक्त क्रियाकलापको रुपमा विद्यार्थीहरुलाई नृत्य, गायन र वाद्यवाधन सीप सिकाउने उद्देश्यले संगीत कक्षा सञ्चालनको तयारी भएको प्रधानाध्यापक कनौजियाले बताए ।
दशरथचन्द नगरपालिकाको सहयोगमा कक्षा ६ देखि १२ सम्मका इच्छुक विद्यार्थीहरुलाई विद्यालय समयपछि संगीत कक्षामा सहभागी गराइने विरेन्द्र माविले जनाएको छ ।
गायन,वाद्यवादन र नृत्य सीप सिकाउनका लागि प्रशिक्षक राख्न विद्यालयले दरखास्त आह्वान गरेको छ । १८० घण्टे छोटो अवधिका लागि प्रशिक्षक नियुक्ती गरिने प्रधानाध्यापक कनौजियाले बताए ।
आगामी माघ ८ गतेभित्र योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई प्रशिक्षकका लागि दरखास्त दिन सूचनामार्फत आह्वान गरिएको प्रधानाध्यापक कनौजियाले बताए ।
बालबालिकाहरुमा किताबी ज्ञान बाहेक संगीतको क्षेत्रको ज्ञान दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिने बताइएको छ । यसले बालबालिकाहरुको क्षमता प्रस्फुटनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
वि.सं.२०११ मा स्थापना भएको विरेन्द्र माविमा अहिले कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । यस्तै विद्यालयमा सिभिल इन्जिनियरका साथै १८ महिने सूचना प्रविधि कोर्ष समेत पढाई हुँदै आएको छ ।
कक्षा ११ र १२ मा विज्ञान संकायको समेत विरेन्द्र माविमा पठनपाठन हुँदै आएको छ ।




