Sagun Khabar
पाटन नगरपालिकाबाट सञ्चालित योजनामा १० प्रतिशतमात्रै श्रमदान गर्नुपर्ने 

बैतडी –सरकारी कार्यालयहरुले उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाहरुमा २० प्रतिशत श्रमदान गर्नुपर्ने भएपनि पाटन नगरपालिकाले भने उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाहरुमा १० प्रतिशत मात्रै जनश्रमदान नियम लागू गरेको छ । 

चालु आर्थिक बर्षदेखि उपभोक्ता समितिमार्फत सञ्चालन गरिने योजनाहरुमा १० प्रतिशत जनश्रमदान गर्नुपर्ने नियम बनाइएको नगरपालिकाको योजना शाखामा कार्यरत बिरसिंह महताले बताए । 

जनश्रमदान कागजी रुपमा मात्रै २० प्रतिशत हुने र जनश्रमदान नगर्ने  प्रवृति बढ्दै गएपछि जनश्रमदानको सीमा घटाइएको महताले बताए । उनले भने ‘हामीले सञ्चालन गर्ने योजनाहरुलाई दिगो र प्रभावकारी बनाउन जनश्रमदानको अवधारणा आएको हो । तर पछिल्लो समयमा कागजी रुपमा मात्रै जनश्रमदान देखिनथालेपछि हामीले १० प्रतिशत जनश्रमदानको व्यवस्था गरेका हौं ।’

नगरपालिकाबाट सञ्चालित योजनाहरुमा साँच्चिकै नागरिकको सहभागिता होस भनेर जनश्रमदानको प्रतिशत घटाइएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवं नगरपालिकाको सामाजिक विकास समितिका संयोजक हरिश बिष्टले बताए । नगरपालिकाबाट सञ्चालित योजनाहरुमा उपभोक्ताहरुको सहभागिता सुनिश्चितताका लागि १० प्रतिशतमात्रै जनश्रमदानको अवधारणा ल्याइएको उनले बताए । उनले भने ‘जनश्रमदान अब कागजमात्रै नहोस,फिल्डमै होस भनेर हामीले १० प्रतिशत जनश्रमदानको अवधारणा ल्याएका हौं । आफ्नो गाउँठाउँमा सञ्चालित योजनाहरुमा १० प्रतिशत जनश्रमदान गर्न हामीले सबैलाई आग्रह गरिरहेका छौं ।’

जनश्रमदानको काम कागजमामात्रै देखाउने प्रवृतिले योजनाहरु दिगो र गुणस्तरीय रुपमा सम्पन्न नहुने र बजेटमात्रै कटौतीमात्रै हुने भएकाले १० प्रतिशत श्रमदानको अवधारणा ल्याइएको समिति संयोजक संयोजक बिष्टले बताए । 

नगरपालिकाबाट सञ्चालित योजनाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जनश्रमदानको दायरा घटाइएको नगरपालिकाका इन्जिनियर गोविन्द पन्तले बताए । नगरपालिकाले वडामै पुगेर उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्पन्न गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिने गरेको उनले बताए ।  
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update