Sagun Khabar
दुर्गममा बिशेषज्ञ उपचारका लागि शिविरकै भर 
फोटो:बैतडीको पाटनमा केही दिन अघि सञ्चालित स्वास्थ्य शिविरमा उपचारका लागि आएका नागरिक

बैतडी–दुर्गम क्षेत्रहरुमा बिशेषज्ञ चिकित्सकहरुबाट सेवा पाउन शिविरकै भर पर्नुपर्ने अवस्था रहेको छ । दुर्गमका सरकारी स्वास्थ्य संस्थाहरुमा बिशेषज्ञ सेवा उपलब्ध नहुँदा बिशेषज्ञ सेवा पाउनका लागि शिविरकै भर पर्नुपर्ने बाध्यता रही आएको छ । 

यसै महिनामात्रै काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोगमा बैतडीको दोगडाकेदार र पाटनमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरमार्फत ४ हजार बढी नागरिकले सेवा लिएका छन् । जिल्लामा भएका स्वास्थ्य संरचनाहरुमा बिशेषज्ञ चिकित्सक नहुँदा बिशेषज्ञ सेवाका लागि शिविरकै भर पर्नुपर्ने अवस्था रही आएको पाटनका स्थानीय डम्मरी भाटले बताइन् । 

पाटन र दोगडाकेदारमा आयोजना भएका शिविरमा जिल्लाका विभिन्न स्थानका नागरिकले सेवा पाएका छन् । उनीहरुमध्ये धेरैलाई थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको छ । शिविरमार्फत सेवा पाएपछि उनीहरुलाई रेफर गरिएको हो । शिविर सञ्चालन नभएको भए उनीहरुले रोग पालेर बस्नुपर्ने अवस्था रहेको दोगडाकेदार गाउँपालिका ४ का पूर्व वडा अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए । 

Atrya hospital

दुर्गमका नागरिकहरुको अझै पनि स्वास्थ्य सेवामा पहुँच नरहेको उनले बताए । दुर्गमका नागरिकलाई सहज होस भनेर काठमाण्डौं मेडिकल कलेजसंगको सहकार्यमा दुई दिने बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए । उनले भने ‘हामीले दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस भनेर शिविरको आयोजना गरेका थियौं । दोगडाकेदारमै २ हजार बढी नागरिकले सेवा लिए । कतिपयलाई काठमाण्डौं रेफर गरिएको छ ।’

स्थानीयस्तरमै नागरिकलाई बिशेषज्ञ सेवा प्राप्त होस भनेर काठमाण्डौं मेडिकल कलेजसंगको सहकार्यमा बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । जिल्लामा भने अनुसारकै बिशेषज्ञ चिकित्सकबाट सेवा पाउन मुस्किल भएकाले यस्ता शिविरहरुमा सहकार्य गर्ने गरिएको उनले बताए । उनले भने ‘हामीले स्थानीय नागरिकलाई बिशेषज्ञ सेवा लिन सहज होस भनेर शिविरको आयोजना गरेका हौं । यस्ता शिविरले नागरिकहरुलाई फाइदा पुगेको छ ।’

दुर्गम क्षेत्रमा सञ्चालन हुने यस्ता शिविरहरुले आर्थिक अभावमा उपचार गराउन नपाएका नागरिकहरुलाई सहज हुने गरेको पाटन बहुमुखी क्याम्पसकी स्ववियु सभापति भागरथी भट्टले बताइन् । बिशेषज्ञ सेवा पाउन मुस्किल भएका बेला यस्ता शिविरले नागरिकलाई सहज भएको उनको भनाइ छ । 

काठमाण्डौं मेडिकल कलेजले स्थानीय सरकारहरुसंगको सहकार्यमा यो महिनामात्रै बैतडी, दार्चुला र डडेल्धुरामा बिशेषज्ञ शिविर सञ्चालन गरेको कलेजका सञ्चालक डा. सुनिलकुमार शर्माले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता खालका शिविर सञ्चालन गर्ने गरिएको उनले बताए । उनले भने ‘दुर्गमका नागरिकको अझै पनि बिशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन् । सरकारले यो तर्फ खासै ध्यान दिन सकेको छैन् ।’

दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन सरकारले मेडिकल शिक्षालाई प्राथमिकता दिनुपर्ने सांसद समेत रहेका डा. शर्माले बताए । पछिल्ला बर्षहरुमा नेपालमा मेडिकल शिक्षा ध्वस्त पार्ने अभ्यास भइरहेकाले यस्तै अवस्था रही रहे दुर्गमका नागरिकहरु स्वास्थ्य सेवामा पहुँच नपुग्ने उनले दाबी गरे । 

काठमाण्डौं मेडिकल कलेजले मात्रै अहिले सम्म २ हजार बढी शिविर सञ्चालन गरेको दाबी गर्र्दै डा. शर्माले शिविरकै भरमा नागरिकको उपचार गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने तर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update