Sagun Khabar
बैतडीको पञ्चेश्वरमा औलो रोग सर्न नदिन बिषादी छर्ने अभियान सञ्चालन 

बैतडी–बैतडीको पञ्चेश्वरमा औलो रोग सर्न नदिनका लागि बिषादी छर्ने अभियान सञ्चालन गरिएको छ । 

पञ्चेश्वर गाउँपालिकाको वडा नं १ का झण्डै १ सय ५० घरधुरीमा बिषादी छरिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निनिसियन निरीक्षक जयसिंह बडालले बताए । पञ्चेश्वरको वडा नं १ का दुई जनामा गत बर्ष औलो रोग देखिएकाले त्यो क्षेत्रमा बिषादी छर्ने कार्य गरिएको उनले बताए । दुईजनामा स्थानीय औलो देखिएकाले लामखुट्टेको लार्भा नष्ट गर्न बिषादी छरिएको हो । 

औलो लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएकाले लामखुट्टे विस्तार हुन नदिन बिषादी छर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । 

बैतडीमा गत बर्ष ६ जनामा औलो  देखिएको थियो । ६ जनामध्ये पञ्चेश्वरका दुई जना र मेलौलीका दुई जनामा स्थानीय औलो देखिएको थियो । मेलौलीमा पनि तिहारपछि बिषादी छर्ने अभियान सञ्चालन हुने ल्याब टेक्निसियन निरीक्षक बडालले बताए । 

औलो रोगबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 
 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update