Sagun Khabar
विपिन जोशीको शव नेपाल ल्याइयो 

बैतडी –हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल ल्याइएको छ । जोशी हमासको कब्जामा परेको २ वर्ष १३ दिनपछि शव नेपाल आइपुगेको हो ।

फ्लाई दुबईको विमानबाट दिउँसो विपिनको शवको अवशेष नेपाल ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सैनिक वाहिनी परिसरमा आयोजित शोक सभामा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरिन् । 

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न विमानस्थलमा मन्त्रीहरू र उच्च पदस्थ पदाधिकारीका साथै नेपालका लागि इजरायली राजदूतको पनि उपस्थिति रहेको थियो ।

विपिन जोशीको पार्थिव शरीरमा श्रद्धान्जली अपर्ण गर्दै प्रधानमन्त्री कार्कीले उनको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा रहेको नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको तत्वावधानमा मृतक जोशीको शव नेपाल ल्याइएको हो । जोशीको अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

जोशीको घर कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्छ । सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहको अध्ययन पूरा गरेका विपिन २३ वर्षको उमेरमा इजरायल सरकारको ’लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत ११ महिने छात्रवृत्तिमा इजरायल पुगेका थिए । 

इजरायल पुगेको तीन हप्तापछि हमासले सन् २०२३ को अक्टोबर ७ तारिखमा गरेको आक्रमणमा विपिन बन्धक बनाइएका थिए । जोशीसँगै गएका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर ज्यान गएको थियो । अरू चार जना घाइते भएका थिए भने दुई जना सकुशल थिए ।

इजरायल र हमासबीच भएको युद्धविराम सहमति अन्तर्गत गएको सोमवार विपिनको शव हमासले इजरायललाई हस्तान्तरण गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update