Sagun Khabar
आफ्नै नेता कुट्ने व्यक्ति छुटाउन रवीन्द्र मिश्र प्रहरी कार्यालय धाउदै

आफ्नै पार्टीका नेतालाई कुट्ने व्यक्ति पक्राउ गरेकोमा प्रहरीलाई धन्यवाद दिनुपर्नेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहितका नेताहरु पक्राउ परेका व्यक्ति छुटाउन लागिपरेका छन् । केही साताअघि पार्टी कार्यालयमा भएको बैठकमा पार्टीका अर्का उपाध्यक्ष विक्रम पाण्डेको आलोचना गर्दा पाण्डे पक्षधरले पूर्व एआइजी समेत रहेका राप्रपा कार्यसम्पादन समितिका सदस्य डा.ठाकुरमोहन श्रेष्ठमाथि हातपात गरेका थिए । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षको ढोकैमा श्रेष्ठलाई ताकेर टाउकोमा मुक्का प्रहार भएको थियो ।

कुटपिटको उक्त घटना पार्टी उपाध्यक्ष विक्रम पाण्डेको प्रत्यक्ष निर्देशनमा भएको भन्दै डा.ठाकुरमोहन श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले बिहीबार कालिकोटको तलाताँ गाउँपालिका घर भई हाल काठमाडौँको निलोपुल बस्ने ३१ वर्षीय निराजन बमलाई पक्राउ गरेको थियो । विक्रम पाण्डे निकट रहेका बमलाई प्रहरीले पक्राउ गरे लगत्तै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही लगाएतका नेताहरू रिहाइको माग गर्दै प्रहरी कार्यालय पुगेका थिए । घटना सामान्य भएका कारण पक्राउ परेका बमलाई मुद्दा नचलाई रिहा गर्न उनीहरुले प्रहरीसँग आग्रह गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीलाई दबाब दिन बिहिबार महाराजगञ्ज पुगेका उनीहरुमध्ये केही नेताले शुक्रबार पनि बमको रिहाइको माग गर्दै प्रहरीलाई दबाब दिएको बुझिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनीहरुमध्ये केहीले कुटिएका डा.ठाकुरमोहन श्रेष्ठलाई उजुरी फिर्ता लिई मिल्न समेत दबाब दिइरहेका छन् । उजुरी फिर्ता नलिए भोलिका दिनमा डा.ठाकुरमोहन श्रेष्ठलाई पार्टी राजनीतिबाटै किनारा लगाउने सम्मको चेतावनी दिइएको बुझिएको छ । तर, चेतावनीका बाबजुत पनि डा.श्रेष्ठ भने कुनैपनि हालतमा उजुरी फिर्ता नलिने अडानमा छन् ।

बिहीबार नियन्त्रणमा लिएर महाराजगन्ज वृत्तमा राखिएका बममाथि प्रहरीले अनुसन्धान गरिरहेको छ भने घटनामा संलग्न रहेको आशंकामा अन्य केहीलाई पनि नियन्त्रणमा लिने प्रहरीको तयारी छ । तर, पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेकै बेलामा राप्रपाकै शीर्ष नेतृत्वले रिहाईका लागि दबाब दिएपछि प्रहरी समेत अन्यौलमा परेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको बुझिएको छ ।
पक्राउ परेका व्यक्तिको रिहाईको पक्षमा रहेका राप्रपाका नेताहरुले भने घटना सामान्य भएको जिकिर गरिरहेका छन् । सामान्य घटनालाई पार्टीभित्रैबाट अपराधीकरण गर्न खोज्दा भोलिका दिनमा समस्या निम्तिन सक्ने उनीहरुको भनाई छ ।

पक्राउ परेका व्यक्ति राप्रपा निकट विद्यार्थी संगठनका सदस्य सचिव हुन् भने उनी पार्टीमा विक्रम पाण्डेका अति निकट समेत मानिन्छन् । । सो घटनामा मुछिएपछि राप्रपाको कार्यसम्पादन समितिको बैठकले भने बमलाई संगठनको सदस्य सचिवबाट ४ वर्षका लागि निलम्बन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । सो घटनामा बमसहित सहायक महामन्त्री प्रेम बलायर र काठमाडौँ क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष रिद्दिप्रताप जबरालाई पनि निलम्बन गरिएको थियो । पार्टी अनुशासन विपरीतको गतिविधि गरेको निष्कर्षका साथ यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री धवलशम्सेर राणा सहितले बमलाइ निलम्बन गर्ने कुरामा साथ दिएका थिए । तर, अहिले पक्राउ परेपछि भने यो मुद्दालाई थप लम्ब्याउन नहुने पक्षमा उनीहरु देखिएका छन् । #आजकोप्रेसबाट

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update