बैतडी - बैतडीमा २० वर्ष उमेर नपुग्दै गर्भवती हुने महिला को सङ्ख्या धेरै रहेको पाइएको छ। आर्थिक वर्ष २०८० / ०८१ को तथ्याङ्कअनुसार जिल्लामा २५६ जना महिला २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । एक वर्षको अवधिमा बैतडी जिल्लामा गर्भवती हुने महिलाको सङ्ख्या २५६ रहेको भए पनि सुत्केरी हुने महिलाको सङ्ख्या भने २२३ जना उमेर नपुगेका महिलाको तथ्याङ्क फेला परेको हो ।
२० बर्ष उमेर नपुग्दै गर्भवती हुने महिला मध्ये पनि दक्ष प्रसुती बाट प्रसुती हुने महिलाको सङ्ख्या १४२ जना रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । दक्ष स्वास्थ्यकर्मीबाट प्रसुतीहुने १४ जना, अन्य स्वास्थ्यकर्मीबाट प्रसुती हुने ६५ जना र घरमै प्रसुती हुने उमेर नपुगेका महिलाको सङ्ख्या २ जना रहेको स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी बिपिन लेखक बताए ।
कलिलो उमेरमै गर्भवती हुँदा आमामा विभिन्न किसिमका जटिलता आउने गर्दछन । सुत्केरी भइसकेपछि पनि पाठेघर खस्ने, पिसाब चुहिरहने र बच्चा ख्याउटे हुनेजस्ता दर्जनौँ समस्या निम्तिने गर्दछन । यसैगरी पाठेघर वयस्क नभई जन्मिएका बच्चालाई श्वास फेर्न गाह्रो हुने, तापक्रम सन्तुलित बनाउन कठिन हुनेदेखि रगतमा सङ्क्रमण हुनेजस्ता समस्या देखिने भएकाले उमेर नपुग्दै बच्चा जन्माउदा आमा र बच्चा दुबैलाई उत्तिकै अप्ठ्यारो हुने गर्दछ । तुलनात्मक रुपमा बैतडी जिल्लामा कम उमेरमा आमा बन्ने महिलाको सङ्ख्या विगतभन्दा घटेको देखिएता पनि समग्र अवस्था हेर्दा अझै पनि यसमा धेरै सुधार गर्नु पर्ने अवस्था देखिएको सूचना अधिकारी लेखकले बताएका छन ।
अपरिपक्व उमेरमा गर्भवती हुँदा , एउटा बच्चा जन्मेको १८ महिना नपुग्दै पुनः गर्भवती हुँदा , पर्याप्त पौष्टिक आहारको कमी र उक्त महिलाले जन्माएका बच्चा महिना नपुगी जन्मने खतरा धेरै हुन्छ । नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गरेको छ । यद्यपि किशोरी अवस्थामै बिहे गरेर बच्चा जन्माउनेहरूको सङ्ख्या भने घटेको छैन । कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको सङ्ख्या भने जिल्लामा घटन नसकेको स्वास्थ्यकर्मी सोम कार्कीले बताए ।
नेपालमा हरेक पाँच जना सुत्केरीमध्येमा एक जना कम उमेरको हुने प्रसूति गृहको तथ्याङ्कले देखाएको छ । सुरक्षित गर्भपतन सेवालाई अझै पनि सामाजिक लाञ्छनाको रूपमा हेरिने भएकाले किशोरीहरूलाई गर्भपतन गराउन सामाजिक अवरोध रहेकाले पनि यो समस्या बढदै गएको हो ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
