Sagun Khabar
बैतडीको शिवनाथमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा आजदेखि पालिकास्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नागार्जुन मावि शर्मालीको प्रांगणमा एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्दघाटन गरिएको छ । 

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए । उद्दघाटन सत्रमा गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँद, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारी लगायत विभिन्न सरकारी तथा गैर–सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनेश साउँदले बताए । 

प्रतियोगितामा पालिकाभरीका ९ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । तीनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्रछात्रा एथलेटिक्सका खेलहरु सञ्चालन भइरहेका छन् । 
प्रतियोगिताबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि शिवनाथ गाउँपालिकाको टीम तयार गरिनेछ । 

प्रतियोगिताको अवसरमा शिवनाथ गाउँपालिकाले पालिकाभरीका विद्यालयहरुमा दुई दिन सार्वजनिक बिदा समेत दिएको छ । 

.

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update