Sagun Khabar
देशभरका अस्पतालमा अक्सिजन पुर्‍याउन सिलिन्डर अभाव

 काठमाण्डौ –कोरोना भाइरसको सङ्क्रमण जुनसुकै अवस्थामा पुगे पनि देशभित्रकै उत्पादित अक्सिजनले पुग्ने सरकारले दाबी गरेको छ ।

भारतमा अक्सिजनको अभाव भएर धेरै सङ्क्रमितले ज्यान गुमाउनु परिरहेको भए पनि नेपालमा अक्सिजन ग्यास उत्पादनमा कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए 

स्वास्थ्य सन्देश
Atrya hospital

अक्सिजन उत्पादनबारे आफूहरुले उद्योगीहरुसँग नियमित छलफल गरिरहेको भन्दै उनले नेपालमा चाहिने जति अक्सिजन देशभित्रै उत्पादन भइरहेको बताए  अक्सिजन प्लान्ट रहेका अस्पतालहरुमा पूरै उत्पादन गर्नुपर्ने र प्लान्ट नभएका अस्पतालले तत्काल अक्सिजन लिएर राख्न गौतमको आग्रह छ ।

सरकारले देशभित्रकै उत्पादनले पुग्ने भने पनि देशभरका अस्पतालसम्म पुर्याउन भने सिलिन्डरको अभाव हुने देखिएको छ । सिलिन्डर पर्याप्त भए दैनिक ३० हजारभन्दा धेरै बिरामीलाई अक्सिजन दिन सकिने नेपाल अक्सिजन उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमल्सिनाले बताए ।

उद्योगीहरुले तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न पनि सरकारलाई सुझाव दिएका छन् । खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्याउन समय लाग्ने भएकाले धेरैजसो सिलिन्डर बाटोमै हुने र बिरामीको लागि थोरै मात्रै सिलिन्डर पुग्न सक्ने भएकाले तत्काल सिलिन्डर आयात गर्नुपर्ने देखिएको अक्सिजन ग्यास उत्पादक सङ्घको भनाइ छ ।

नेपालमा अहिले विभिन्न ठाउँमा २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् ।  ५ ठूला उद्योगसँग झण्डै १२ हजार र अरु उद्योगसँग २ हजारका दरले अक्सिजन सिलिन्डर छन् । देशभर ९० हजार सिलिन्डर रहेको अनुमान गरिए पनि यसको निश्चित लेखाजोखा भने भएको छैन । 

यसैबीच, सरकारले नेपालमा पिलक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन भारतलाई पत्राचार गरेको छ । भारतीय पक्षले भने एक हप्ता पर्खन आग्रह गरेको छ । नेपालमा भारतको झारखण्डमा रहेको लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट हरेक महिना १५० टन अक्सिजन आपूर्ति हुँदै आएको थियो । तर पछिल्लो समय भारतको केन्द्र सरकारले अक्सिजन निर्यातमा रोक लगाएको छ ।

अहिले भारतबाट लिक्विड अक्सिजन र सिलिन्डर आउन रोकिएपछि नेपाल सरकारले औपचारिक पत्र पठाएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update