बैतडी –शहरी क्षेत्रमा मात्रै सीमित रहेको लागुऔषध दुव्र्यसन पछिल्लो समय बैतडीका ग्रामीण बस्तीसम्म फैलिन थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लाका विकट बस्तीमा समेत युवाहरू लागुऔषधको प्रयोगमा फस्न थालेपछि यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको उनीहरूको भनाइ छ ।
सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चले जिल्ला सदरमुकाममा आयोजना गरेको लागुऔषधविरुद्ध संवाद तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । खुला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट नियन्त्रित औषधि भित्रिने र त्यसको सेवनबाट युवाहरू दुव्र्यसनमा फस्ने क्रम बढेको उनीहरूले बताएका छन् ।
जिल्लाको मेलौली, कुलाउ, सुल्लेखान, खोड्पे, सिल्लेगडा, पुर्चौंडी र गोकुलेश्वरलगायतका दुर्गम क्षेत्रमा समेत लागुऔषधको प्रयोग बढ्न थालेको सहभागीहरूको भनाइ थियो । विकट बस्तीमा समेत यसको प्रयोग बढ्न थालेपछि नियन्त्रणका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको शिक्षिका बसन्ती भट्टले बताइन् ।
लागू औषध प्रयोग गर्ने युवाहरुको संख्या ग्रामीण क्षेत्रमा बढ्दै गएको नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडूले बताए ।
जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांकले पनि लागुऔषधसम्बन्धी मुद्दा बर्षेनी बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा लागुऔषध प्रयोगसम्बन्धी मुद्दामा चार जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले २०८१÷८२ मा ११ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८२÷८३ मा १३ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताए । चालु आर्थिक वर्षको तीन महिनामै लागुऔषध प्रयोगसम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरी मुद्दा चलाइएको उनले जानकारी दिए ।
अभिभावकको बेवास्ता, साथीभाइको संगत र बेरोजगारीलगायतका कारण समाजमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको जिल्ला कानुनी सहायता केन्द्रका अधिवक्ता गोवर्धन नाथले बताए ।
गाँजा, चरेसजस्ता लागुऔषध र नियन्त्रित तथा निषेधित औषधिको सेवनलाई एउटै समूहमा राखेर हेर्दा समस्याको सही पहिचान र समाधानमा कठिनाइ हुने गरेको नागरिक समाज बैतडीका सचिव कर्ण दयालले बताए । यस विषयमा समयानुकूल कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ ।
लागुऔषध सेवन पछिल्लो समय सामाजिक समस्याका रूपमा देखिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी मीना अर्यालले यसको नियन्त्रणमा समाजका हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताइन् ।





