Sagun Khabar
‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

काठमाण्डौं –प्रतिनिधिसभाबाट ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सहकुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राख्ने व्यवस्था गरिएको बताएका थिए । 

छलफलका क्रममा सांसद योगेशकुमार भट्टराईले धेरै पहिलादेखि उठेको विषय भएको सुदूरपश्चिमका जनतालाई न्याय गरेको बताए । सांसद डा अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज नभएको उल्लेख गरे । 

सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय आवश्यकताबारे चर्चा गरेका छन् । सांसद दामोदर पौडेल वैरागीले विश्वविद्यालय स्वास्थ्य शिक्षाका क्षेत्रमा सुदूरपश्चिमको क्षेत्र केन्द्रका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । सांसद किरणकुमार साहले साहस र बलिदानको योगदानस्वरुप सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्नु गौरवपूर्ण कार्य भएको बताए । 

सांसद डा चन्दा कार्की भण्डारीले शहीदका नाममा खोलिएको विश्वविद्यालयमा राजनीतिक भागबण्डाको विषय हुन नहुने र स्वास्थ्यका क्षेत्रमा सबैले मिलेर राम्रो बनाउनुपर्ने सुझाव दिए। सांसद देवेन्द्र पौडेलले अब बन्ने विश्वविद्यालयको नेतृत्व प्रतिस्पर्धाद्वारा छनोट गर्ने विषयलाई विधेयकमा समावेश गर्नुपर्ने धारणा राखे । 

सांसद दिलेन्द्रप्रसाद बडुले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नमूना विश्वविद्यालयका रुपमा राज्यले विकास गर्नुपर्नेमा जोड दिए । छलफलमा सांसद बिजुला रायमाझी, रामकृष्ण यादव, रामप्रकाश चौधरी, दयालबहादुर शाही, प्रेम आले र विराजभक्त श्रेष्ठले भाग लिएका थिए । 

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ५ गते बिहान ११ बजे बस्ने भएको  छ ।  
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update