Sagun Khabar
प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलाली –कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार प्रहरी जवान चन्द्रिका देउवालाई प्रशंसा पत्र र रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन् । 

यस्तै प्रहरी महानिरीक्षक दिपक थापाले पनि प्रहरी जवान देउवालाई पुरस्कृत गरेका छन् । प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय काम गरेको भन्दै उनलाई प्रहरी महानिरीक्षक थापाले पुरस्कृत गरेका नेपाल प्रहरीले जनाएको छ । 

प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छटपटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुर्याएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको प्रहरीले जनाएको छ । 

देउवाले मंगलबार गोदावरी नगरपालिका–१ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन् । देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुर्याइएको थियो । 

देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए ।
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update