बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ र ६ धुलिधारका किसानहरुले बारीमा फलाएको बन्दा बारीमै सड्न थालेको छ ।
बर्षातको समयमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा नआउँदा बारीमै बन्दा सड्न थालेको स्थानीय किसान दलबहादुर बिष्टले बताए ।
ग्रामीण सडक मर्मत नहुँदा बारीमा उत्पादन भएको बन्दा बजारमा पठाउन नसकिएको उनले बताए । सडक नहुँदा करीब दुई लाख बराबरको बन्दा बारीमै सड्न थालेको उनले बताए । सडक मर्मतका लागि गाउँपालिका र वडालाई पटक–पटक आग्रह गर्दा समेत कुनै सुनुवाई नभएको बिष्टले बताए । उनले भने, ‘बारीमा दुई लाख बराबरको बन्द कुहेर सखाप हुने अवस्थामा छ । पालिका सरकारलाई सडक खोल्नका लागि आग्रह गर्दा समेत केही पहल भएको छैन् ।’
खर्काधार –धुलिधार तथा जित्कीजुवाँड –धुलिधार सडक मर्मत नहुँदा किसानहरु मारमा परेका बिष्टले बताए ।
सडक मर्मत नहुँदा बारीमा फलाएको बन्दा सड्ने अवस्थामा पुगेको सुर्नया –६ का नवराज अवस्थीले बताए । पछिल्लो समयमा किसानहरु मकै छोडेर बन्दा खेतीमा आकर्षित भएपनि उत्पादन भएको बन्दा बजारमा पुर्याउन नपाउँदा घाटा व्यहोर्दै आएका छन् ।
मकैभन्दा बन्दाखेतीबाट फाइदा हुने भएपनि सडक अभावका कारण समस्या भएको बिष्टले बताए । ग्रामीण सडक समयमा मर्मत नहुँदा आफूहरुले समस्या झेल्नुपरेको उनको भनाइ छ ।




