बैतडी–बैतडीको सुर्नयामा पालिका अनुदान शिक्षकहरुले संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।
यही असोज १३ गते विभिन्न माग राखेर गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका शिक्षकहरुले माग पू्रा गराउन संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । सुर्नया शिक्षक एकता समितिको बैठक बसेर संघर्षका कार्यक्रम तय गरिएको समितिका सचिव हेमराज भट्टले बताए ।
शिक्षक एकता समितिले विद्यालयहरुलाई पत्राचारदेखि पालिकामा धर्नासम्मका कार्यक्रमहरु तय गरेको सचिव भट्टले बताए । संघर्षका कार्यक्रम अन्तर्गत असोज १९ गते सबै विद्यालयमा संघर्षका कार्यक्रमहरुको बारेमा जानकारी गराउने, असोज २० गते सबै शिक्षकहरुले पेन डाउन गर्ने, असोज २१ गते पालिकामा शान्तिपूर्ण धर्ना दिने र असोज २२ गते नारा जुलुसहित पालिकामा धर्ना दिने भट्टले बताए ।
तह अनुसारको तलब वृद्धि हुनुपर्ने, पालिका अनुदान शिक्षकहरुलाई पोशाक भत्ता र चाडपर्व खर्च उपलब्ध गराइनुपर्ने, पालिका अनुदान शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनुपर्ने, पालिका अनुदानका बालविकास सहजकर्ताहरुको तलब वृद्धि गर्नुपर्ने लगायतका मागहरु रहेका सचिव भट्टले बताए ।
सुर्नया गाउँपालिकाभरी ९५ जना पालिका अनुदान शिक्षक विभिन्न विद्यालयहरुमा कार्यरत रहेका छन् ।




