
कैलाली –सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ विगो र सजाय माग गरिएको छ । सोडारी हाल प्रदेशसभा सदस्य हुन् ।
अख्तियारका अनुसार सार्वजनिक पद धारण गरेको मिति २०७४ साल माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थामा नगद मौज्दातसमेत गरी १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको सम्पत्ती खर्च तथा लगानी गरेको देखिएको तर सोही अवधिमा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि उनीविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरिएको हो ।
आयोगले पूर्वमुख्यमन्त्री सोडारीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ । उनले आयोगसमक्ष पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइ छिपाई झुट्टा विवरण पेश गरेको अख्तियारको ठहर छ ।
सोडारीले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट उनकी श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद,घर निर्माण र बैंक मौज्दातको सम्पत्ति भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख समेतको कानुन बमोजिम जफत गर्न माग गरिएको आरोप–पत्रमा उल्लेख छ ।