Sagun Khabar
अछाममा बालविवाह गरेका किशोरकिशोरी प्रहरी नियन्त्रणमा 

अछाम –अछाममा बालविवाहका गरेका किशोर–किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार बिहान मंगलसेनका एक किशोरले एक किशोरीलाई भगाई सिन्दूर हालेर मन्दिरमा बालविवाह गरेका थिए । विवाह गरेर उनीहरू घर फर्कँदै गर्दा स्थानीयवासीले मेल्लेख प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल खटिएको थियो । 

बालविवाहमा संलग्न दुवै किशोर–किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

उनीहरूमाथि बालविवाहसम्बन्धी अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ । पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मुलुकी देवानी संहिता २०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । साथै तोकिएको उमेर नपुगी बालविवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवानाको सजाय तोकिएको छ ।

मुलुकी देवानी संहितामा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने व्यवस्था भएपनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । यसले विभिन्न जटीलताहरु देखापरेका कतिपय सरोकारवालाहरुले बताएका छन् । 

त्यसैगरी कानुनले तोकेको उमेर नपुगी पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेको भए पनि सोही कारणले पुरुष र महिलाबीच स्वतः विवाह भएको नमानिने समेत उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update