Sagun Khabar
अछाममा सडकमै धान रोपियो 

अछाम –अछामको सदरमुकाम मंगलसेनको बीच बजारको सडकमा धान रोपिएको छ । 

सडक हिलाम्य भएपछि स्थानीयले रोपाइँ गरेर विरोध गरेका हुन् । उनीहरूले सडकमा गोरु जोतेरै विरोध गरेका छन् । बजारको मुख्य सडकमा हिलो भएका कारण उनीहरूले रोपाइँ गरेको बताएका छन् । 

मंगलसेन बजारदेखि विद्यालय र क्याम्पसहरूमा जाने सडकमा स्थानीयले विरोध स्वरुप रोपाइँ गरेका हुन् । विसं २०६७ सालमा मंगलसेनको जीरो प्वाइन्टदेखि जिल्ला अस्पतालसम्म ६ मिटरको सडक बनाउन पहल गरिएको थियो । तर, अहिलेसम्म सडकको अवस्था उस्तै रहेपछि स्थानीय युवाहरू एकजुट भएर विरोध स्वरूप रोपाइँ गरिएको हो । 

मंगलसेन बजारदेखि क्याम्पससम्मको सडक निर्माण भइरहेको र निर्माणको समयमा सडकमा हिलो हुनु स्वाभाविक भएको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले बताएका छन् । 

सडक निर्माणको काम जारी रहेकाले विरोधले नगरपालिकालाई केही फरक नपर्ने उनले बताए । केही स्थानीयले सडकका लागि एक इन्च जग्गा नदिने अडान राखेपछि सडक विस्तार गर्न नसकेको समेत उनले बताए । दुई पटक नगर प्रमुख भएका बोहराले पटक–पटक स्थानीयको असहयोगका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको बताए ।

सडकको स्तरोन्नतिका लागि ६६ लाखमा ठेक्का सम्झौता गरिएको छ । तर, रकम अपुग भएको भन्दै निर्माण व्यवसायीले काम गर्न सकेको छैन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update