
शिर्षक: म निलो नै हुँ ! मन कालो छैन ।
गोविन्द पन्त बैतडी - मन्द मुस्कानसँगै सधैं हाँस्ने गर्छु म, तर भित्र कताकता सगरमाथा जत्तिकै चिसो चिसो शून्यता बोकेर बाँचिरहेको छु ।
म निलो नै हुँ !
त्यो निलो जुन आकासको सपनासँग जोडिन्छ । तर मन कालो छैन – म त केवल मौन पीडाहरुलाई आँसुका अक्षरमा बुनिरहेको एक जीवित कविता हुँ !
सधैं ख्याल राख्ने तर आफू सधैं नजरअन्दाज भइरहने, सधैं बुझ्ने तर कहिल्यै नबुझिने म,
जब 'तिमी ठीक छौ?' भनी सोधिन्छ, मन भित्रको आँधीलाई मुस्कानले छोपिदिन्छु ।
किनकि म नीलो हुँ !
शान्त, शान्त, तर गहिरो...
जसको गहिराइ कसैले चिर्न सकेका छैन्न। पर्खाइले पुराना घाउहरू पोलिरहँदा पनि, प्रेमको भाषालाई घुर्लुङ्ग पारेर तिमीलाई सहज बनाइदिएको छु ।
मेरो मौनताले तिमीलाई कहिल्यै गाह्रो नहोस् भनेर, म आफैंलाई बारम्बार भुलेको छु ।
किनभने म निलो हुँ !
वफादार रंग, तर कालो हैन...
स्वार्थीपनको प्रतिक ! कसैले ठेस पुर्याउँदा पनि म दोष आफैंमा खोज्छु, म फूलझैँ नाजुक भए पनि, हावाजस्तो सहनशील छु ।
म ती चिट्ठी हु ! जुन कहिल्यै नपढिएका रहि रहन्छन, तर मनभित्र शब्दहरूको आँधी बोकेर बाँच्छन ।
म निलो हुँ !
म मायाको रंग हुँ ! म त्यो गीत हुँ, जसलाई कसैले नसुने पनि हृदयभरि गुञ्जिरहन्छ ।
मेरो मनमा उज्यालोको इच्छा अझै बाँकी छ, कालो छैन - केवल थाकेको नीलो छ ।
साँचो हो, केही चोटहरूले मेरो रंग फिक्का पारेका छन । तर म अझै रंगिन छु - निलोमा आशा र प्रेम मिसिएको छु ।
किनकि म मान्छे हुँ !
स्वाभाविक, संवेदनशील र मेरो मन अझै उज्यालो खोजिरहेछ । म निलो नै हुँ !
मन कालो छैन । म केवल गहिरो छु, मौन छु, तर प्रेमले पूर्ण छु । र मलाई थाहा छ – एक दिन, कसैले त्यो नीलोपनको गहिराइ महसुस गर्नेछ । र भन्ने छ ! "तिमी त उज्यालोको चित्र हौ !" विद्याअश्र