बैतडी–बैतडीको पुर्चौंडीमा रहेको इलाका प्रशासन कार्यालयको कार्यालय प्रमुखको रुपमा उत्तमबहादुर बिष्टलाई खटाइएको छ ।
गृह मन्त्रालयले सचिवस्तरको निर्णय अनुुसार जिल्ला प्रशासन कार्यालय बैतडीमा कार्यरत नायब सुब्बा बिष्टलाई इलाका प्रशासन कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी दिएर खटाएको हो ।
उनलाई इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख हाजिर नहुँदासम्मका लागि प्रचलित कानुन अनुसार प्रशासनिक तथा आर्थिक कारोबारसहित सञ्चालन गर्ने गरी कार्यालय प्रमुखकको जिम्मेवारी दिएको हो ।
बिष्टले आगामी सोमबारदेखि इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट कार्यालय प्रमुखको रुपमा सेवा प्रदान गर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।
इलाका प्रशासन कार्यालयले नयाँ कार्यालय प्रमुख पाएसँगै नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र, नाबालिग परिचयपत्र वितरण लगायतका कामहरु सुचारु हुनेछन् । यसअघि गएको मंसिरदेखि इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा यी कामहरु रोकिएका थिए ।
इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुखको व्यवस्था भएसँगै पुर्चौंडी क्षेत्रका नागरिकहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।





