बैतडी–बैतडीमा राष्ट्रिय परिचय पत्र बनाइसकेका व्यक्तिहरुले अब घरबाटै मतदाता नामावलीमा नामदर्ता गर्न सक्ने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र बनाइसकेका व्यक्तिहरुका लागि अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
राष्ट्रिय परिचय पत्र बनाइसकेका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयको ह्वाट्सएप नम्बर ९७६७४३५३१८ मा यसअघि मतदाता परिचय पत्र नभएको स्वघोषणा फारम,राष्ट्रिय परिचय पत्रको फोटो, सम्बन्धित व्यक्तिको मोबाइल नम्बर र मतदान केन्द्रको नाम पठाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए ।
जिल्ला निर्वाचन कार्यालयले जिल्लाबासीहरुको सजिलोका लागि अनलाइनबाटै मतदाता नामावलीमा नामदर्ता गर्न सक्ने व्यवस्था गरेको भएपनि कतिपय नागरिकले अनावश्यक मेसेज र फोटो पठाउने गरेकाले त्यसो नगर्न आग्रह गरिएको छ ।
राष्ट्रिय परिचयपत्र बनाइसकेका तर मतदाता नामावलीमा नामदर्ता नभएका नागरिकका लागि मात्रै यो व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।
नागरिकलाई घरदैलोमै सेवा दिने, प्रविधिमैत्री सेवा दिने लगायतका उद्देश्यले यो विधि अपनाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए । यसले नाागरिकको पनि प्रविधिमा पहुँच बढ्ने विश्वास गरिएको उनले बताए ।
मतदाता नामावलीका लागि कार्यालयमा पुग्नुपर्ने, टाढाका नागरिकले हजारौं रुपैयाँ खर्र्च गर्नुपर्ने बाध्यताको समेत अन्त्यका लागि जिल्लामा पहिलो पटक यस्तो व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।





