बैतडी–बैतडीमा सम्पन्न यु–१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि विरेन्द्र मावि शाहीलेकले हात पारेको छ ।
आज भएको फाइनल खेलमा कालाशैनी मावि बुड्डालाई ७२ रनले पराजित गर्र्दै विरेन्द्र माविले उपाधि जितेको हो ।
१९० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको कालाशैनी १६.१ ओभरमा ११७ रनमा समेटियो । उसका मनोज चन्दले ६१ रनको अर्धशतकीय पारी खेलेपनि टीमलाई जिताउन सकेनन् । बलिङतर्फ विरेन्द्र माविका टेकेन्द्र चन्द र संगम ठगुन्नाले ३÷३ विकेट लिए ।
दशरथचन्द खेलमैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको विरेन्द्र माविले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८९ रन बनायो । उसका लागि सुजल चन्दले अविजित ९५ रन बनाए । उनी म्यान अफ द फाइनल घोषित भए ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।
यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई प्रदेशस्तरीय खेलमा समावेश गरिने बताइएको छ ।





