
कैलाली –कैलाली कारागारभित्र कैदीबन्दीहरुबीच कुटाकुट भएको छ । शनिबार दिउँसो कारागारभित्र भएको कुटाकुटमा कारागारका नाइके खगेन्द्र बोगटी घाइते भएका छन् ।
कैलाली प्रहरीले कुटपीटमा परेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाएको छ । उनको नाक र मुखमा चोट लागेको छ । बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपीट गरेको कारागार प्रशासनले जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक बालनरसिंह राणा घटना भएलगत्तै कारागार पुगेका थिए । जिल्ला प्रहरी प्रमुख राणाले कैदीबन्दीहरूबिच सामान्य विवाद भएको बताएका छन् । कारागारको अवस्था सामान्य भएको उनले बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकार हमालले बिहिवार गरेको निरीक्षणको क्रममा ब्लक ए मा रहेका कैदीहरूसँग मोबाइल फेला परेको थियो । त्यसपछि शुक्रवार ब्लक ए मा रहेका सात जना कैदी बन्दीलाई ब्लक बी मा सारिएको थियोे । तर, कारागारका नाइके बोगटीले आफू जेलरको मान्छे हुँ भन्दै रवाफ देखाएको भन्दै श्रेष्ठको समूहले कुटपीट गरेको खुलेको छ । तर, कैलाली प्रहरीले भने कैदी बन्दीबिच धकेलाधकेल हुँदा नाइके बोगटीलाई चोट लागेको दाबी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हमालले पनि सामान्य विवादले घटना भएको दाबी गरेका छन् । कारागारको सुरक्षा अवस्था अहिले सामान्य रहेको प्रमुख जिल्ला अधिकारी हमालको दाबी छ । कैदी बन्दीहरूले भने जेलर वसन्त खत्री विरुद्ध नाराबाजी समेत गरेका छन् ।
उनीहरूले प्रमुख जिल्ला अधिकारी हमाल र कैलालीका प्रहरी प्रमुख राणाको अगाडि जेलर खत्रीले मनोमानी गरेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका हुन् ।