Sagun Khabar
कर्मचारीलाई बिदामा नबस्न सुदूरपश्चिमका मुख्यमन्त्री शाहको निर्देशन

कैलाली –सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिदामा नबस्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढीमा बुधवार सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अत्यावश्यकबाहेक अन्य समयमा बिदामा नबस्न निर्देशन दिएका हुन् । 

सुदूरपश्चिम प्रदेश सरकार आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेकाले अत्यावश्यक काम बाहेक बिदामा नबस्न उनले आग्रह गरेका हुन् । 

उनले प्रमुख सचिव डा. कमलप्रसाद पोख्रेललाई मातहतका निकायमा परिपत्र गर्न निर्देशन दिएका छन् । लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नु पर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले प्रदेशमा लगानी मैत्री वातावरण बनाई लगानीकर्तामा विश्वासको वातावरण सिर्जना प्रदेश सरकार गम्भीर रहेको बताए । 

लगानी तथा विकास सम्मेलन सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि एक कोसेढुङ्गो साबित हुने बताइएको छ । सम्मेलनबाट पूर्वाधार विकास, पर्यटन विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्धन, कृषि तथा वन उपजमा मूल्य अभिवृद्धि, सीमा व्यापार तथा अन्तरदेशीय आर्थिक साझेदारीलगायतका क्षेत्रमा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update