Sagun Khabar
सुदूरपश्चिममा रोपेको धान खडेरीले सुक्न थाल्यो 

कैलाली – सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्णरुपमा सक्रिय हुन नसक्दा देखिएको खडेरीले धानबाली प्रभावित हुन थालेको छ ।

पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगैको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन् ।

पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवम् खडेरीका कारण खेतमा रोपिएको धानबाली सुक्न थालेको किसान हरिलाल चौधरीले बताए । 

बोरिङ पम्पिङसेटबाट पानी तानेर असार पहिलो हप्तामा नै धान रोपाइँ गरेको भए पनि दुई हप्तादेखि चाहिने जति वर्षा नहुँदा खडेरीले रोपेको धान सुक्न लागेको उनको भनाइ छ ।

मनसुन भित्रिने सरदर मितिभन्दा यस वर्ष १५ दिनअगाडि नै मनसुन भित्रिएको भए पनि मनसुन प्रणाली सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियाको महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सञ्जय शाहले गएको असार १६ गते धनगढी क्षेत्रमा २१२ दशमलव दुई मिलिमिटर वर्षा मापन भएकोमा त्यसयता ठूलो वर्षा हुन सकिरहेको छैन ।
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update