Sagun Khabar
जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी कार्यालय र ६ सय सवारी साधनमा आगजनी 

कैलाली –गत मंगलबार भएको जेनजी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका छन् । प्रदेशको राजधानी समेत रहेको धनगढीमा रहेका प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालय ध्वस्त पारिएको छ । प्रदर्शनको क्रममा नेपाल टेलिकम, विद्युत प्राधिकरण, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका, पशु र कृषि कार्यालय तथा नेपाल प्रहरीको बाहेक सबैजसो सरकारी कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए ।

प्रायजसो सबै सरकारी कार्यालयका भवनमा तोडफोड र आगजनी गरिएको छ भने सरकारी कार्यालयका सवारी साधनसमेत जलाइएका छन् । धनगढी मात्र नभएर अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुर लगायतका ठाउँमा रहेका स्थानीय, प्रदेश र संघीय सरकार मातहतका सरकारी संरचनामा समेत तोडफोड र आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अध्ययनअनुसार जिल्लाभर एक सय आठ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ भने दुई र चार पाङ्ग्रे गरेर छ सयभन्दा बढी  सवारीसाधन जलाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले १०८ सरकारी कार्यालयका भवन, एक सयभन्दा बढी  चार पाङ्ग्रे गाडी र पाँच सयभन्दा बढी मोटरसाइकल आगजनीले नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको बताए । 

उनले आन्दोलनको क्रममा सबै पार्टी कार्यालय र नेताहरूका निजी घर समेत जलाइएको विवरण प्राप्त भएको बताए । क्षतिको विवरण संकलन गर्ने काम अहिले पनि भइरहेको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेपछि सेवा प्रवाह ठप्प भएको छ । 

आगजनीपछि कैलाली जिल्ला अदालत, मालपोत, नापी कार्यालय र प्रदेश सरकार अन्तरगतका प्राय सबै निकायको कामकाज रोकिएका छन् । अहिले क्षतिको विवरण लिने र कार्यालयमा सरसफाइ गर्ने काम चलिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update