
कैलाली –नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा भएको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भइ पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ ।
संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सोमवार बसेको दलको बैठकले पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको हो ।
कांग्रेस संसदीय दलले जेनजी युवाले उठाएको भ्रष्टाचारमुक्त समाज निर्माण, भ्रष्टाचारीलाई कारबाही लगायतको उचित मागको सम्बोधनका निम्ति तत्काल पहल गर्न प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गरेको छ ।
संसदीय दलले लोकतन्त्रका लागि जीवनभर अविचलित रही संघर्ष गर्नु भएका पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस नेतृ एवम् निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणको निन्दा गरेको छ । जेनजीको प्रदर्शनमा लोकतन्त्र नचाहने, संविधान विरोधी र नेपाली कांग्रेसलाई कमजोर देखाउन चाहने व्यक्ति, समूहको घुसपैठबाट आक्रमण भएको कांग्रेस संसदीय दलको ठहर छ ।
दलको बैठकले दुवैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।
दलको बैठकले भदौ २३ र २४ गते देशको विभिन्न स्थानमा भएको हत्या, हिंसा, आक्रमण लुटपाट, आगजनी र सम्पत्तिको तोडफोड तथा नोक्सानीको छानबिन गरी तत्काल दोषीमाथि कडा कानुनी कारबाही गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको छ ।
कांग्रेस संसदीय दलले जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएका देशका होनहार युवा, नागरिक तथा प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।