डोटी– डोटीमा एक शिक्षिका मृत फेला परेकी छन् ।
जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
मृतक शिक्षिकाले लेखेका सुसाइड नोटका आधारमा शिक्षा विकास तथा समन्वय इकाइ डोटीमा कार्यरत विद्यालय निरीक्षक गणेश रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले बताए । पक्राउ परेका रावलमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा अनुसन्धान अघि बढाइएको छ ।
घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेपछि प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ । मृतक खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।
शिक्षिका खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन् ।, उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन् ।
प्रहरीका अनुसार मृतक अविवाहित थिइन् भने पक्राउ परेका रावल विवाहित जीवनपछि सम्बन्धविच्छेद गरिसकेका व्यक्ति हुन् ।
रावलकै कारण आफूले मृत्युको बाटो रोजेको शिक्षिका खड्काले लेखेको सुसाइड नोटमा उल्लेख गरिएको छ ।





