Sagun Khabar
हङकङ सिक्सेसअन्तर्गत बाउलमा नेपालद्वारा भारत ९२ रनले पराजित 

काठमाण्डौ – हङकङमा चलिरहेको हङकङ सिक्सेसअनतर्गत बाउलमा नेपालले भारतलाई ९२ रनले हराएको छ । नेपालले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो ।

भारतका भरत चीप्ली र प्रियङ्क पञ्चलले समान १२ रन बनाए । नेपालका राशिद खानले तीन, बसिर अहमदले दुई र रुपेश सिंहले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले कुनै पनि विकेट नगुमाइ एक सय ३७ रन बनायो । नेपालका रासिद खानले ५५, सन्दीप जोराले ४७ र लोकश बमले अविजित ३१ रन बनाए । त्यसअघि बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट पराजित भयो ।

नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो । आजै भएको बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भयो । प्रतियोगितामा १२ टोलीको सहभागिता छ । हङकङ सिक्सेस हिजोदेखि शुरु भएको हो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update