बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा यही मंसिर २ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको पाँच दिने निःशुल्क दन्त तथा स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ९ सय ८६ जनाले सेवा लिएका छन् ।
युनाइटेड नेपाल फाउण्डेसन भक्तपुर, सगरमाथा हेल्थ फाउण्डेसन महाराजगञ्ज र हेल्थ केयर नेपालको आयोजना तथा सुर्नया गाउँपालिकाको समन्वयमा सञ्चालनमा भएको शिविरमा स्त्रीरोग बिशेषज्ञ र दन्त रोग बिशेषज्ञसहितका स्वास्थ्यकर्मीहरुको टोली सेवा दिएको युनाइटेड नेपाल फाउण्डेसनका अध्यक्ष केशवबहादुर चन्दले बताए ।
शिविरमा ३ सय ४६ जनाले स्त्रीरोग सम्बन्धी सेवा लिएका छन् भने ६ सय ४० जनाले दाँच सम्बन्धी समस्याको चेकजाँच गराएका छन् ।
शिविरमा महिलाहरुको पाठेघर खसेको समस्या लगायतका समस्याहरुको चेकजाँच गर्नुका साथै औषधि वितरण गरिएको थियो । यस्तै दाँत सम्बन्धी समस्या भएका बिरामीहरुको दाँत भर्ने, दाँत सफा गर्ने र दाँत निकाल्ने लगायतका सेवाहरु प्रदान गरिएका थिए ।
स्थानीयस्तरमा नागरिकहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरबाट नागरिकहरु लाभान्वित भएका चन्दले बताए । शिविरमा सेवा पाउँदा खुसी लागेको सेवाग्राहीहरुले बताएका छन् ।
शिविरमा स्त्री रोग बिशेषज्ञ डा.पदमराज पन्त, दन्त रोग बिशेषज्ञ डा.दिपकराज जोशी लगायतको टोलीले सेवा दिएको थियो ।
युनाइटेड नेपाल फाउण्डेसनका संरक्षक समेत रहेका राप्रपा नेता भुपेन चन्दको अगुवाई शिविर सञ्चालन गरिएको युनाइटेड नेपाल फाउण्डेसनले जनाएको छ ।
स्थानीयस्तरमा नागरिकहरुलाई शिविरमार्फत बिशेषज्ञ सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको र यो निकै सफल भएको युनाइटेड नेपाल फाउण्डेसनका सल्लाहकार महेशसिंह मालले बताए ।




