दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बैतडीका १७ जना खेलाडी छनौट

बैतडी–आजदेखि कर्णाली प्रदेशमा शुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तगर्त विभिन्न विधामा बैतडीका १७ जना खेलाडी छनौट भएका छन् । कार्तिक २८ देखि मंसिर १ गतेसम्म भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट बैतडीका १७ जना खेलाडी छनौट भएका जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

छनौट हुने खेलाडीमा महिला भलिबलतर्फ पुर्चौंडीकी नम्रता बोहरा रहेकी छन् । यस्तै एथेलेटिक्सतर्फ १५ सय मिटर दौडमा पुर्चौंडी अस्मिता धानुक, १ हजार मिटर दौडमा सिगासकी मञ्जु धामी, त्रिपलजम्पमा दशरथचन्द नगरपालिकाकी पुनम जोशी, हाइजम्पमा दोगडाकेदारकी सुनिता पार्की र ८ सय मिटर दौडमा दशरथचन्द नगरपालिकाकी कमला जोशी छनौट भएकी छन् । 

यस्तै महिला क्रिकेटमा दशरथचन्द नगरपालिकाकी रितु कनौजिया, अञ्जु पार्की, रविना बोहरा, करिष्मा थापा र ममता बोहरा चयन भएकी छन् । 

यस्तै पुरुष क्रिकेटमा दशरथचन्द नगरपालिकाका खडक बोहरा, आयुष चन्द, लोकेन्द्र चन्द र प्रदीप चन्द छनौट भएका जिल्ला खेलकुद समिति अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

यस्तै बास्केट बलमा सिगासका सुनील धामी र पाटनका रोशन भट्टराई चयन भएका चन्दले बताए ।

पहाडी जिल्ला बैतडीमा प्रशिक्षण र प्रशिक्षकको अभावकै बीचमा पनि खेलाडीहरुको उत्कृष्ट प्रदर्शन गरेको चन्दले बताए । छनौट भएका खेलाडीहरुले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने बताइएको छ । 

सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले पहिलो पटक तेश्रो स्थान हात पारेको अध्यक्ष चन्दले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update