पाटनमा क्षयरोगका बिरामी खोज्न एआई एक्सरेको प्रयोग गरिने

बैतडी–बैतडीको पाटन नगरपालिकाले क्षयरोगका बिरामी खोज्नका लागि एआई एक्सरेको प्रयोग गर्ने भएको छ । 

समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरुको खोजी गरी उपचारको दायरामा ल्याउन लागि खोजपड्ताल शिविर सञ्चालन गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 
शिविरमा एआई एक्सरेको प्रयोग गरेर चिकित्सकमार्फत बिरामीहरुको चेकजाँच गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

यही मंसिर १० गतेदेखि १२ गतेसम्म नगरपालिकाका तीनओटा वडामा खोजपड्ताल शिविर सञ्चालनको तयारी भएको महराले बताए । मंसिर १० गते वडा नं १ को वडा भवन सकार, मंसिर ११ गते वडा नं ७ स्थित कैलपाल स्वास्थ्यचौकी र मंसिर १२ गते वडा नं ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा शिविर सञ्चालन हुने बताइएको छ । 

शिविरमा एआई एक्सरेको प्रयोग गरेर चिकित्सकमार्फत चेकजाँच गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए । क्षयरोगका सम्भावित बिरामीहरुको पहिचान गरी उनीहरुलाई उपचारको दायरमा ल्याउन सहज होस भनेर शिविरको आयोजना गर्न लागिएको पाटन नगरपालिकाले जनाएको छ । 

क्षयरोगको सम्भावित लक्षण भएका, क्षयरोगको बिरामीको सम्पर्कमा रहेका, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, एचआइभी संक्रमित, कुपोषित र मधुमेह भएका व्यक्तिहरुलाई आफ्नो पायक पर्ने स्थानमा आएर क्षयरोगको जाँच गराउन आग्रह गरिएको छ । 

पाटन नगरपालिकामा अहिले ३५ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेका छन् । गत बर्षका २४ जना र चालु आर्थिक बर्षको ४ महिनामा ११ जना गरेर ३५ जना उपचारमा रहेका स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुँदै जानु  क्षयरोगका सम्भावित लक्षण हुन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको छ भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update