बैतडी–बैतडीमा बसबाट खसेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका–६ मेलतडाका ७० बर्षीय महेन्द्र चन्दको बसबाट खसेर मृत्यु भएको हो ।
मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट पाटन नगरपालिका–६ मेलतडा भन्ने स्थानमा ओर्लने क्रममा ढोकाबाट लडेर चन्द गम्भीर घाइते भएका थिए । आइतबार बिहान साढे १० बजेतिर घाइते भएका चन्दलाई उपचारका लागि तत्कालै पाटनस्थित डिएस क्लिनिकमा पुर्याइएको थियो । त्यसपछि चन्दलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो ।
पाटनमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल पुर्याइएका चन्दको उपचारकै क्रममा आज दिउँसो ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक नवराज भट्टले जानकारी दिए ।
घटनापछि बस चालक मेलौली नगरपालिका–९ का ४८ बर्षीय अशोक चन्दलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक चन्दको शव पोष्टमार्टपछि आफन्तलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।




