Sagun Khabar
दार्चुलाको छाङरु र टिङ्कर जोड्ने बाटो निर्माण हुँदै 

दार्चुला –चीन र भारतसँग सीमा जोडिएको दार्चुलाको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । व्यास गाउँपालिकाले गत आर्थिक वर्ष २०८१÷८२ मा गरेको ठेक्का सम्झौता अन्तर्गत बाटो निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

नेपालबाटै व्यासको वडा नम्बर १ टिङ्कर र छाङरुको धेरै जसो ठाउँको पैदलबाटो निर्माण अघि बढिसकेको छ भने दोपाखे, बयली र तम्बाकु क्षेत्रको बाटो निर्माण अन्तिम चरणमा रहेको मिसन–देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालले बताएका छन् ।  

सङ्घीय सरकारको ससर्त अनुदानबाट गत आर्थिक बर्षमा व्यास गाउँपालिकाले पाँच करोड ५० लाखको टेन्डर आह्वान गरी पैदल बाटो निर्माणको ठेक्का सम्झौता गरेको थियो । त्यसमध्ये एक करोड २५ लाख रुपैयाँ बजेट फ्रिज भइसकेको गाउँपालिकाका लेखापाल गोपालसिंह विष्टले जानकारी दिए ।  गत असार ७ गतेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट बेहोर्ने गरी बाटो निर्माणको म्याद भने मङ्सिर १५ गतेसम्मका लागि थप गरेको छ । 

थपिएको म्यादभित्र बाटो निर्माण कार्य सक्ने काम भइरहेको उनले बताए । गाउँपालिकाले चालु आव २०८२÷८३ मा पैदल बाटो निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update