दार्चुला –दार्चुलामा यस वर्ष स्याउ उत्पादन घटेको छ । गत वर्ष करिब २ हजार २ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष मात्र १ हजार ३ सय मेट्रिक टन उत्पादन भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ दार्चुलाका प्रमुख कमल तामाङले जानकारी दिए ।
असिनापानीका कारण यस वर्ष उत्पादनमा ठूलो कमी आएको बताइएको छ । दार्चुलामा जिल्लामा स्याउको उत्पादकत्व ८.३५ मेट्रिक टन प्रति हेक्टर रहेको उनले बताए ।
दार्चुलाको अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, व्याँस गाउँपालिका र मार्मा गाउँपालिकामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत स्याउ खेती विस्तार भइरहेको छ । व्याँसको छाङरु, नौगाडको जात्रा र मानाकोट, अपिहिमालको पाथा, खण्डेश्वरी र लिथिमा स्याउ उत्पादन भइरहेको छ ।
तामाङका अनुसार राम्रो उत्पादन र बजार सम्भावना हुँदाहुँदै पनि अझै व्यवसायिक रुपमा स्याउ खेती फस्टाउन सकेको छैन् । दार्चुलामा उत्पादन भएको अधिकांश स्याउ स्थानीय बजारमै खपत हुने गरेको छ ।




