दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जीत निकालेको छ । आज भएको खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो । पोखराले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन मात्रै बनायाे ।
जनकपुरका वेन पाेर्नेलले ५० रन बनाएर रिटायर्ड आउट भए । यस्तै सञ्जय कृष्णिमूर्तिले २५ रन बनाए । पोखराका बिपिन खत्रीले ४ विकेट लिए । यस्तै सुमित बर्माले २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले ६ विकेट गुमाएर १ सय ५५ रन बनायो । पोखराका सुमीत वर्माले नटआउट ५०, दिनेश खरेलले ३८ रन बनाए । जनकपुरका सञ्जय कृष्णमूर्तिले ३ विकेट लिए ।
एनपीएल तालिकामा पुछारमा रहेको पोखराले पहिलो पटक जित्दै २ अङ्क जोडेको छ । पोखरा एक स्थान उक्लिएको छ । लगातार तीन खेलमा हारेको जनकपुर अङ्कविहीन हुँदै तालिकाको पुछारमा झरेको छ ।




