Sagun Khabar
टी–२० विश्वकप : लगातार तेस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाण्डौ – वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको छ ।

भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । वेस्ट इन्डिजका कप्तान शाई होपले नटआउट ६१, शिमरन हेटमायरले नटआउट ४६ रन बनाए । नेपालका नन्दन यादवले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । दीपेन्द्र ४७ बलमा ५८ रन बनाएर आउट भए । यस्तै सोमपालले नटआउट २६ रन बनाए । विश्वकपमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो । वेस्ट इन्डिजका जोसन होल्डरले ४ विकेट लिए ।

नेपाल खेलाडीले १२ वर्षपछि टी–२० विश्वकपमा अर्धशतक प्रहार गरेका हुन् । यसअघि सन् २०१४ मा नेपालका सुवास खकुरेलले अफगानिस्तानसँगको खेलमा अर्धशतक बनाएका थिए ।

यस्तै यो खेलमा सोमपालले इतिहास रचेका छन् । उनी नेपालका लागि तीन वटा विश्वकप खेल्ने पहिलो खेलाडी बनेका हुन् ।

लगातार तेस्रो हारसँगै नेपाल टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । नेपाल पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । यसअघि ओमान समूह चरणबाटै बाहिरिएको थियो ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि स्कटल्यान्डसँग खेल्नेछ ।

वेस्ट इन्डिज भने लगातार तेस्रो जीतसँगै समूह ‘सी’ बाट ‘सुपर एट’ मा पुगेको छ । वेस्ट इन्डिज ‘सुपर एट’ मा पुग्ने पहिलो टोली बनेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update