बैतडी–बैतडीको पाटन नगरपालिका–४ बस्तीस्थित सहस्त्रलिङ्ग मन्दिरमा आयोजना गरिएको शिवपूराण महायज्ञबाट १२ लाख ४५ हजार बढी रुपैयाँ भेटी रकम संकलन भएको छ ।
सहस्त्रलिङ्ग मन्दिर व्यवस्थापन समितिको आयोजनामा फागुन १ देखि ११ गतेसम्म सञ्चालन भएको महायज्ञमा भक्तजनहरुले भेटी तथा चन्दा प्रदान गरेको समितिका सचिव रमेशसिंह महराले बताए । महायज्ञ सञ्चालन भएको समयमा १२ लाख ४५ हजार ४६४ रुपैयाँ संकलन भएको उनले बताए ।
भेटी र चन्दाबाट प्राप्त भएको रकम मन्दिर निर्माणमा खर्च गरिने समितिका अध्यक्ष नरबहादुर महराले बताए ।
सहस्त्रलिङ्ग मन्दिरमा हरेक बर्ष असोज र चैत्रको नवरात्रमा जात्रा तथा पूजाआजा हुने गरेको सचिव महराले बताए । यहाँका स्थानीयहरुको अगाध श्रद्धास्थलको रुपमा रहेको सहस्त्रलिङ्ग मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।




