Sagun Khabar
प्रतिनिधिसभा निर्वाचन : डोटीमा १ हजार ७९ कर्मचारी खटिए

डोटी – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोटीमा १ हजार ७९ कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । निर्वाचनलाई सफल पार्न जिल्लाभरी उक्त संख्यामा कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयल बताए । 

डोटीमा एक अस्थायी केन्द्रसहित १८१ मतदान केन्द्र रहेका छन् । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत खटाइएको छ । ३०० भन्दा बढी मतदाता भएका केन्द्रमा तीन जना सहायक कर्मचारी र ३०० भन्दा कम मतदाता भएका केन्द्रमा दुई जना सहायक कर्मचारी परिचालन गरिएको छ । साथै, हरेक केन्द्रमा एक जना सहयोगी कर्मचारी पनि नियुक्त गरिएको छ । जिल्लामा ३०० भन्दा कम मतदाता भएका सात मतदान केन्द्र रहेका छन् । 

जिल्ला निर्वाचन अधिकारी करुणाकर पन्तले मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बिहीबार र शुक्रबार तालिम सञ्चालन गरिने जानकारी दिए । उनले निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य सामग्री जिल्लामा आइपुगेको पनि बताए ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको बताइन् । उनले सबै पक्षलाई सहयोग गर्दै निर्वाचन सफल बनाउन आह्वान समेत गरिन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update