Sagun Khabar
बैतडीमा २० जना फरार प्रतिवादी पक्राउ गर्ने प्रहरी हवल्दार  भट्ट साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

बैतडी - जिल्ला प्रहरी कार्यालय बैतडीले प्रहरी हवल्दार भोजराज भट्टलाई ‘साउन महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले साउन महिनामा उच्च कर्तव्यनिष्ठा, लगनशीलता, सक्रियता तथा व्यावसायिक दक्षता प्रदर्शन गरेको भन्दै प्रहरी हवल्दार भट्टलाई ‘साउन महिनाको उत्कृष्ट प्रहरी’का रूपमा छनोट गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी हवल्दार भट्टले साउन महिनामा २० जना फरार प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ । उहाँको सक्रियतामा फरार प्रतिवादीहरूको खोजतलास तथा पक्राउ कार्यलाई प्रभावकारी बनाउँदै अपराध नियन्त्रण र कानुनको प्रभावकारी कार्यान्वयनमा योगदान पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए ।

कानुनको शासन कायम गर्न तथा संगठनको गरिमा र श्रीवृद्धिका लागि पुर्‍याएको योगदानको उच्च कदर गर्दै उहाँलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको प्रमुख प्रहरी नायब उपरीक्षक रायले बताए । जिल्ला प्रहरी कार्यालय बैतडीले प्रहरी कर्मचारीको कार्यसम्पादन, कर्तव्यनिष्ठा, सक्रियता र व्यावसायिक दक्षताका आधारमा प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ ।

फरार प्रतिवादी पक्राउ तथा अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेका प्रहरी हवल्दार भट्टलाई उत्कृष्ट प्रहरी घोषणा गरिनुलाई जिल्लाको शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा प्रहरीको उच्च सक्रियताको रूपमा हेरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update