Sagun Khabar
सुर्नयाको मूलखटालीमा पहिरो खस्यो, स्थानीयका घर र मन्दिर जोखिममा 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–६ मूलखटालीमा पहिरो खसेपछि स्थानीयका घर र मन्दिर जोखिममा परेका छन् । 

सोमबार रातिको बर्षाले गाउँ तलतिर पहिरो खसेपछि स्थानीयहरुका घर र मन्दिर जोखिममा परेका स्थानीय पदमराज अवस्थीले बताए । 

मूलखटाली हुँदै सप्याखान जाने सडकबाट पहिरो खसेपछि स्थानीय ओमप्रकाश अवस्थी, खेमराज अवस्थी, दशरथ अवस्थी, जयानन्द अवस्थी, विष्णुदत्त अवस्थी, पदम अवस्थी, मोहनदेव अवस्थी, विनोद अवस्थी, खेमराज अवस्थी, रघुनाथ अवस्थी लगायतका घर पहिरोको जोखिममा परेका छन् । 

घर तलतिरको खेत पहिरोले भासिएपछि घरहरु पनि पहिरोको जोखिममा परेका बताइएको छ । यस्तै पहिरोका कारण अनिरुद्र र कैलपाल मन्दिरको भण्डार घर जोखिममा परेको अवस्थीले बताए । 

मूलखटाली गाउँमा खसेको पहिरो रोकथामका लागि तत्काल उपाय नअपनाए ठूलो क्षति हुन सक्ने स्थानीयहरुले बताएका छन् । पहिरो रोकथामका लागि सरोकारवाला निकायहरुको ध्यान जानुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् । 

कच्ची सडकका कारण गाउँमा पहिरो खसेको बताइएको छ । सडक निर्माणपछि आवश्यक नाली र अन्य संरचनाहरु निर्माण नहुँदा प्रकोपका घटना हुने गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update