बैतडी - बैतडीमा इलाका प्रशासन कार्यालयहरुले निरन्तर सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ ।
बैतडी जिल्लामा इलाका प्रशासन कार्यालय पुर्चौडी र इलाका प्रशासन कार्यालय मेलौली गरेर दुई ठाउँबाट सेवा प्रवाह भैरहेको छ । इलाका प्रशासन कार्यालयहरूबाट नियमित र निरन्तर सेवा प्रवाह हुन थालेपछि सर्वसाधारणलाई राहदानी, नागरिकता लगायतका प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम गोठलापानी धाउनुपर्ने बाध्यता हटेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
विगतमा कर्मचारी अभाव, प्राविधिक समस्याका कारण इलाका प्रशासन कार्यालय पुर्चौडीबाट सेवा प्रभावित हुँदा स्थानीयहरूले सास्ती खेप्नु परेको भएपनी पछिल्लो समय द्रुत सेवा दिने कार्य सुरु भएपछि सेवाग्राहीले ठूलो राहत महसुस गरेका इलाका प्रशासन कार्यालय पुर्चौडीका प्रमुख उत्तम कटुवालले बताए ।
यस्तै जिल्लाको तल्लो स्वराड क्षेत्रमा गत बैशाख २४ गते स्थापन भएको इलाका प्रशासन कार्यालय मेलौलीले स्थानीय स्तरमै निरन्तर सेवा दिइरहेको छ । इलाका प्रशासन कार्यालय मेलौलीले स्थापन भएको चार महिनाको अवधीमा एक हजार बीस वटा नयाँ नागरिकता जारी गरेको छ भने तीन सय दस वटा नागरिकताका प्रतिलिपी वितरण गरेको कार्यालय प्रमुख महेश भट्टले बताए ।
यस्तै इलाका प्रशासन कार्यालय मेलौलीबाट पचास वटा नागरिक गुनासो सम्बोधन भएका छन भने चार वटा स्थानीय बजार अनुगमन गरिएको कार्यालय प्रमुख भट्टले बाताए । इलाका प्रशासन कार्यालय मेलौली स्थापना भएपछि स्थानीय बासिन्दाहरूको समय र खर्च दुवैको बचत भएको छ ।
जिल्लाको तल्लो स्वराड क्षेत्रका नागरिकले पहिले नागरिकता वा राहदानी बनाउनुपर्दा पूरै दिन र ठूलो रकम खर्च गरेर सदरमुकाम जानुपर्थ्यो। अहिले आफ्नै नजिकको कार्यालयबाट सेवा पाइएपछी स्थानीय खुसी भएका छन ।




