बैतडी - बैतडीको पुर्चौडी नगरपालिकामा विद्युत् विस्तारको काम सुरु भएको लामो समय बितिसक्दा पनि स्थानीयवासीले विद्युत् सेवा पाउन सकेका छैनन्। केन्द्रिय विद्युत प्राधिकरणबाट ठेक्का सम्झौता गरेर ए आइ बि परियोजनाले विद्युत बिस्तारको काम सुरु गरेको भएपनी विद्युत वितरण केन्द्र बैतडीको लापरबाही र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण विद्युत विस्तार हुन नसकेको स्थानीय लक्षण बोहराले बताए ।
विद्युत् विस्तारका लागि आवश्यक पोल तथा तार गाउँमा ल्याएर कामसमेत सुरु गरिएको भए पनि लामो समयदेखि आयोजना अलपत्र अवस्थामा रहँदा स्थानीयवासी आक्रोशित बनेका छन्। विद्युत् विस्तारका लागि ल्याइएका पोल तथा तार अहिले पुर्चौडी क्षेत्रका प्रत्येक ठाउँमा अस्तव्यस्त अवस्थामा देखिन्छन्। स्थानीयका अनुसार कतिपय पोल निर्धारित स्थानमा गाडिनुको सट्टा बाटोमै रहेका छन् भने विद्युतका तार तथा अन्य सामग्रीसमेत बाटो र खुला स्थानमा अलपत्र छाडिएका पुर्चौडी नगरपालिकाका सव इन्जिनियर रिगेश धानुकले बताए ।
विद्युत् विस्तारका लागि प्रयोग हुने पोलहरू झाडी तथा बाटोछेउमा थुपारिएका छन । त्यस्तै, विद्युतका तारका ठूला ठूला रीलसमेत लामो समयदेखि खुल्ला ठाउँमा अव्यवस्थित रुपमा छाडिएका छन । स्थानीयवासीका अनुसार केही स्थानमा पोल गाड्ने काम भए पनि कतिपय ठाउँमा पोल तथा तार जडानको काम अधुरै रहेको स्थानीय राबल बोहराले बताए ।
आवश्यक वायरिङ तथा विद्युत् जडानको काम पूरा नहुँदा आयोजना अघि बढ्न सकेको छैन। वर्षौ वर्षदेखि विद्युत् विस्तारको काम भइरहेको भनिए पनि सेवा सञ्चालन हुन नसक्दा स्थानीयवासीले समस्या भोग्दै आएका छन्। विद्युत् सेवा कहिले सञ्चालन हुन्छ भन्नेबारे आफूहरू अन्योलमा रहेका स्थानीय लक्ष्मण बोहराले बताए ।
लामो समय देखि पोल र तार अलपत्र रहेका छन । बत्ती बल्न सकेको छैन। काम कहिले सकिन्छ र हामीले कहिले विद्युत् सेवा पाउँछौँ भन्ने अन्योलमा रहेका स्थानीयहरुले बताएका छन ।विद्युत् विस्तारको काममा भएको ढिलाइबारे सम्बन्धित निकायले तत्काल अनुगमन गर्नुपर्ने स्थानीयहरुको माग रहेको छ । बाटोमा रहेका पोल तथा तारलाई सुरक्षित र निर्धारित स्थानमा व्यवस्थापन गर्न, बाँकी संरचना निर्माण तथा जडानको काम पूरा गर्न र आवश्यक वायरिङ सम्पन्न गरी यथाशीघ्र विद्युत् सेवा सञ्चालन गर्न सरकारसँग आग्रह गरेको नगरपालिकाले जनाएको छ ।
ग्रामीण क्षेत्रमा विद्युत् पहुँच विस्तारलाई विकासको महत्वपूर्ण आधार मानिए पनि निर्माण सामग्री वर्षौँसम्म अलपत्र छाडिनु र आयोजना सम्पन्न नहुनुले सरकारी लगानीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको सव इन्जिनियर धानुकले बताए । स्थानीयवासीले विद्युत् विस्तारको वास्तविक अवस्था, काममा भएको ढिलाइको कारण र जिम्मेवार पक्षबारे छानबिन गरी तत्काल काम अघि बढाउन माग गरेका छन्।
तर यता विद्युत वितरण केन्द्र बैतडीले भने विद्युत विस्तारमा ढिलासुस्तीबारे कार्यालयलाई जानकार नभएको प्रतिक्रिया दिएको छ । ए आइ बि परियोजनाले काम गरिरहेको बताउदै विद्युत विस्तारबारे थप बुझ्ने कार्यालयले जनाएको छ । ए आइ बि परियोजनाका प्रतिनिधि माधव न्यौपाने भने विद्युत विस्तारको काम अलपत्र पारेर सम्पर्क बिहिन भएका छन ।




