Sagun Khabar
डीएलएसमा नेपाल ‘ए’ले स्कटल्यान्डलाई ९ रनले हरायो

काठमाण्डौ – एकदिवसीय अभ्यास शृङ्खलाको चौथो खेलमा नेपालको ‘ए’ टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा ९ रनले हराएको छ । स्टकल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ३४ ओभर ५ बलमा ४ विकेट गुमाएर २ सय ४ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ‘ए’ टोली विजयी भएको हो ।

नेपालका सन्दीप जोराले अविजित ८३ र इशान पाण्डेले ५० रन बनाए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले ८ विकेट गुमाएर ३ सय ३ रन बनायो । स्कटल्याण्डका जर्ज मुन्सीले ६२ र माइकल इंग्लिस नटआउट ५६ रन बनाए । नेपालका आकाश चन्दले ३ विकेट लिए ।

आईसीसी विश्वकप क्रिकेट लिग–टु खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृङ्खला खेलिरहेको हो । नेपाल ‘ए’ ले स्कटल्याण्ड र अमेरिकासँग दुई÷दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो हो ।

यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डलाई ४५ रनले र हिजो भएको खेलमा अमेरिकालाई तीन विकेटले हराएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार शृङ्खलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ ।

यो अभ्यास खेलपछि आउँदो वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्याण्डबीच त्रिवि क्रिकेट रङ्गशालामा आईसीसी विश्वकप क्रिकेट लिग–टू प्रतियोगिता शुरू हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update