Sagun Khabar
प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाण्डौ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश भएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

प्रधानन्यायाधीशमा सिफारिश हुनुभएका शर्माको नाम समितिको आज बसेको बैठकले अनुमोदन गरेको हो । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

सुनुवाइ प्रक्रियाका क्रममा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीहरूको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ । सभापति श्रेष्ठका अनुसार प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, वर्गीकरण गर्ने र आवश्यक अध्ययनका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ ।

विशेषगरी ती उजुरीहरूलाई समीक्षासहित अभिलेखका लागि संवैधानिक परिषदमा नै फिर्ता पठाइने समितिले जनाएको छ । संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update