काठमाण्डौं –यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसुन पूर्णरूपमा हटेको छ ।
बाँकी भूभागमा पनि मनसुनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशैभरबाट मनसुन बाहिरिने अनुमान छ ।
नेपालमा मनसुन पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ । अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ वहन थालेको छ जुन मनसुन अन्त्य हुने मुख्य सङ्केत हो ।
नेपालमा सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसुन फर्किन थालेको छ । गएको वर्ष भने अक्टोबर १० मा मात्र मनसुन हटेको थियो ।
यस वर्ष ६ वर्षयताकै ढिलो गरी जुन १९ मा मनसुन भित्रिए पनि एल निनो प्रभावका बाबजुद देशभर औसतकै आसपासमा पानी परेको छ ।
भर्खरै मात्र बङ्गालको खाडीमा विकसित प्रणालीले देशैभर ठूलो वर्षा गराएको थियो । अब भने मौसम खुल्न थालेको छ ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा ‘पोस्ट–मनसुन’ शुरू हुन्छ । यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र पुसपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइनसक्ने भएकाले मौसम प्रायः सफा रहन्छ ।
वर्षा कम हुनु, वायुमण्डलको आद्रता घट्नु र तापक्रमको अन्तर बढ्नुले मनसुन अन्त्यको पुष्टि गर्छ । यसै कारण अघिल्लो वर्ष हिले दशैँ सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो दशैँ मनाउन पाउने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।




