काठमाण्डौ – नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदबहाली गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराए लगत्तै उनले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पदबहाली गरेका हुन् । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति थियो ।
संसदीय सुनुवाइ समितिले फास्ट ट्र्याकमा सुनुवाइ गरेसँगै उनको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ । नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले हिजो डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।
त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश पदमा उनलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
२०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मेका नवनियुक्त प्रधानन्यायाधीश डा. शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्व विद्यालयबाट एलएलएम गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् ।
न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश गरेका डा. शर्माले २०७० साल जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका थिए । प्रधानन्यायाधीश डा. शर्माको कार्यकाल २०८९ असार ४ सम्म हुनेछ ।





