Sagun Khabar
सुदूरपश्चिममा बत्ती बाल्ने महिना शुरु 

बैतडी –बैतडीसहित सुदूरपश्चिममा बत्ती बाल्ने महिना शुरु भएको छ । साउन महिनालाई यो क्षेत्रमा बत्ती बाल्ने महिनाको रुपमा मनाउने गरेका छन् । श्रावण महिना शुरुभएसंगै बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्ने गरिएको छ । आजका दिनदेखि देवीदेवताका मन्दिरहरुमा जाग्राम बसेर भजनकीर्तन गर्ने चलन समेत रही आएकोे स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 

साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका चलनहरु रही आएका छन् । साउन महिनामा मन्दिरहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले श्रावण महिनामा मन्दिरहरुमा भक्तजनहरु जाने गरेको अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । उनले भने ‘साउन महिनाभरी देवीदेवताका मन्दिरहरुमा पूजापाठ गर्ने चलन रही आएको छ । श्रावण महिनालाई भगवान शिवको महिनाका रुपमा लिने गरिन्छ ।बत्ती बालेर जाग्राम बस्ने चलन रही आएको छ ।’

बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयबासीले बताएका छन् ।

जिल्लाका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा, ग्वाल्लेक धुरा, दोगडाकेदार, उदयदेव मन्दिर, शिवनाथ, वासुलिङ्ग, भूमीराज, कैलपाल, अनिरुद्र, उदयदेव, महारुद्र, पाताल भुमेश्वर लगायतका धामहरुमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् । 

श्रावण महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ । जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।

जिल्लाको प्रसिद्ध रौलाकेदार धाममा श्रावण महिनाभरी दर्शनार्थीहरु घुइँचो रहने गरेको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । उनले भने ‘आजदेखि रौलाकेदारमा दर्शन गर्नेहरु पुग्न थालेका छन् । यो महिनाभरी मन्दिरमा दर्शनार्थीहरु घुइँचो लाग्ने गर्दछ ।’

रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुन जनविश्वास रही आएको पूजारी भट्टले बताए । रौलाकेदारको दर्शन गरेमा बद्रीकेदारको दर्शन गरे जत्तिकै फल प्राप्त हुने विश्वास रही आएको उनले बताए । 
यस्तै जिल्लाको सिगास गाउँपालिकास्थित सिगासधुरा धाममा पनि श्रावण महिनामा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । भगवान शिवको बासस्थानको रुपमा सिगासधुरालाई लिने गरिएको छ । यो बर्ष भने सिगास धुरामा मन्दिर निर्माणको काम भइरहेकाले पूजापाठ बन्द गरिएको सिगास गाउँपालिकाले जनाएको छ । 

विभिन्न खालका बाधा र कष्टबाट मुक्ति पाउनका लागि यो महिना भगवान शिवको आराधना गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार शिवराज भट्टले बताए । सकारात्मक उर्जा प्राप्तिका लागि बत्ती बालेर साधना गर्ने गरिएको उनको भनाइ रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update