दार्चुला –दार्चुलाको नौगाड गाउँपालिका–१, ईयरकोटस्थित वडा कार्यालयमा प्रवेश गरी कर्मचारी तथा जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी आफ्नै चार वर्षीय छोरालाई कुटपिट गरेको र त्यसपछि वडा कार्यालयमा पुगेर कर्मचारी तथा जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको आरोपमा सोही वडाका ३५ वर्षीय रोसमसिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवेन्द्रसिंह बुढाथोकीले जानकारी दिए ।
वडा अध्यक्ष हरिलालसिंह महताका अनुसार साउन १८ गते रोसमले मादक पदार्थ सेवन गरी बाटोमा आफ्ना चार वर्षीय छोरालाई कुटपिट गरिरहेका थिए ।
वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक कलावती ठगुन्नाले बालकलाई नकुट्न आग्रह गरेपछि रोसमले उल्टै दुव्र्यवहार गर्दै वडा कार्यालयभित्र प्रवेश गरेका थिए ।
वडा कार्यालयमा पुगेपछि उनले सामाजिक परिचालक तथा जनप्रतिनिधिमाथि गालीगलौज गर्नुका साथै अभद्र व्यवहार गरेको वडा अध्यक्ष महताले बताए । उनका अनुसार रोसमले आफूलाई कैँची प्रहार गर्ने प्रयाससमेत गरेको थियो ।
वडा कार्यालयमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले रोसमलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
प्रहरीका अनुसार सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।




